नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

पशु सेवा विभाग

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

त्रिपुरेश्वर काठमाडौँ

परिचय

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभाग मातहतमा रहेको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (सीभीएल) नेपालमा पशु स्वास्थ्य सम्बन्धी रोग निदानको राष्ट्रिय रिफरल प्रयोगशालाको रुपमा रहेको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा रोगहरूको पहिचानका लागि देशव्यापी परीक्षण सेवा प्रदान गर्छ। यसको मुख्य उद्देश्य रोगहरूलाई प्रारम्भिक चरणमै पत्ता लगाई यस्ता रोगको प्रकोप न्यूनीकरण सहित थप विस्तार हुन नदिनु हो। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले महामारी रोगको प्रकोपको अनुसन्धान, रोग अनुगमन तथा किसानहरूबाट प्राप्त नमूनाहरूमा विविध प्रयोगशाला परीक्षणहरू सञ्चालन गर्छ। यी परीक्षणहरू मुख्य रूपमा आर्थिक रूपमा महत्त्वपूर्ण तथा जनावरबाट मानिसमा सर्न सक्ने (जूनोटिक) रोगहरूमा केन्द्रित हुन्छन्। पशु स्वास्थ्यको राष्ट्रिय रिफरेन्स प्रयोगशालाका रूपमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आफ्नै कार्यविधि, परीक्षण प्रोटोकल र गुणस्तर मापदण्डहरू पालन गर्दै, निरन्तर नवीन प्रविधिहरू अपनाउँदै आएको छ। गुणस्तर प्रतिवद्धताको प्रमाणस्वरूप केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर सुनिश्चितता(प्रोफिशिएंसी टेस्टिङ) कार्यक्रमहरूमा भाग लिन्छ। यसका साथै, परीक्षण प्रमाणीकरणका लागि अन्तर्राष्ट्रिय प्रयोगशालासँग सहकार्य गर्दै अन्तर्राष्ट्रिय मान्यता र प्रमाणिकरण(प्रत्यायन) प्राप्त गर्ने दिशामा काम गरिरहेको छ। विश्व पशु स्वास्थ्य संगठन (WOAH) को सिफारिसअनुसार केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आफ्ना संरचना तथा सेवाहरू उन्नयन गरिरहेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश परिवर्तनसँगै केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र यसको सहायक प्रयोगशालाहरू नयाँ चुनौतीहरूको सामना गर्दै नेपालमा पशु स्वास्थ्य तथा उत्पादन र उत्पादकत्व सुधार गर्नतर्फ प्रयासरत छन्।